सप्तरी घटनामा प्रहरीको गोली लागि चार जनाको मृत्यु, राजविराज यतिबेला तनावग्रस्त



गोली लागेर चार  प्रदर्शनकारीको मृत्यु भएपछि राजविराज यतिबेला तनावग्रस्त अवस्थामा रहेको र अप्रिय घटनाको सम्भावना बढ्दै गएको जानकारी त्यहाँस्थित सञ्चारकर्मीले सेतोपाटीलाई दिएका छन्।
प्रहरीको गोली लागेर घटनास्थलमै अन्दाजी २६ वर्षीय सञ्जन मेहता र अन्दाजी ४५ वर्षीय दिगम्बर यादवको मृत्यु भएको सगरमाथा अञ्चल अस्पताल परिसरकै औषधि बिक्रेता तुला माझीले सेतोपाटीलाई बताए। माझीका अनुसार ती दुबै शव धरान पठाइसकिएको छ।
त्यसैगरी उपचारका निम्ति धरान लगिएका अन्दाजी ५० वर्षका पिताम्बरलाल मण्डल र अन्दाजी ३५ वर्षका आनन्द साहको मृत्यु विपिकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको जानकारी धरानस्थित अस्पतालमा आकस्मिक विभागका प्रमुख ज्ञानेन्द्र मल्लले बताए।
‘सप्तरी घटनाका ९ जना घाइते मध्ये २ जनाको धरानमा मृत्यु भएको छ,’ मल्लले भने।
उता सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले अस्पतालमा थप दुईजना गरेर तीनजनाको मृत्युको पुष्टि गरेका छन्।

गत वर्षमात्र बिहे भएका सञ्जन पसले हुन्। दिगम्बर कानुन ब्यावसायी हुन्। अन्य दुइको पृष्ठभूमि खुलेको छैन।
कान्तिपुर दैनिकका सप्तरी संवाददाता जितेन्द्र खड्गाका अनुसार यतिबेला राजमार्गमा चक्काजाम सुरु भइसकेको छ। यता राजबिराज सहरमा प्रहरी उपस्थिती शून्य छ। जबकि केहिबेर अघिसम्म पनि सुनसरी, सिरहा र उदयपुरलगायतका स्थानबाट थपिएका पाँच हजार सुरक्षाकर्मीको उपस्थितीले अवस्था एकदमै बेग्लै थियो। यसरी बाहिरबाट आएका प्रहरीहरु आमसभालगत्तै जुलुससँगै फर्किएपछि र स्थानीय प्रहरीहरु पनि साना चौकीहरुमा समेत नरहेपछि शून्य उपस्थित देखिएको हो।

खड्गाका अनुसार सहरभन्दा करिब चार किलोमिटर पर आमसभास्थलमा प्रदर्शनकारीको मृत्युको खबर नै धेरैले निकै पछि पाएका थिए। त्यतिन्जेल आमसभा सकेर एमालेको जुलुस रुपनी नाघिसकेको थियो। आमसभास्थल अर्थात् गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र राजमार्गस्थित रुपनी र राजबिराजको १० किलोमिटर दुरीमा झण्डै बीचमा पथ्र्यो। गोलीलागेको घटनास्थल भने आमसभा गरिएको स्थानबाट करिब डेढ सय मिटर दक्षिणतर्फ पर्छ। आमसभा आयोजना गरिएको स्थान सप्तरीको मलेठ गाविस हो। झण्डै साठी बिगाहामा फैलिएको कम्पाउण्डमा आमसभा भएको थियो। मृतक मलेठकै दुइनम्बर वडाका स्थानीयवासी हुन्।
दाइको मृत्यु हुनेबित्तिकै शवमा आएर रोइरहेका भाइ रञ्जन मेहताले टाउकोमा कालो पट्टी बाँधेको आधारमा मृतक पनि मधेसी मोर्चा समर्थक प्रदर्शनकारी नै रहेको अनुमान लगाउन सकिने घटनास्थलमै उपस्थित पत्रकार खड्गा सुनाउछन्। उनीहरु स्थानीय किराना पसले लक्ष्मण मेहताका छोरा हुन्।

यतिबेला प्रहरीको गोली लागेर अञ्चल अस्पताल लगिएका गम्भीर घाइतेलाई धरान लगिसकिएको छ। ती १३ जनामध्ये दुइजनाको मृत्यु पुष्टि भइसकेको छ। थ्प केहिको मृत्यु भइसकेको हल्ला चलिरहेको भए पनि त्यसको पुष्टि चाहिँ हुनसकेको छैन। यस्ता हल्लाहरु धेरै चलिरहेसँगै एमालेका समर्थकभन्दै बाटोमा भेटिएकालाई हुलले कुटपीट गर्ने क्रम पनि चलिरहेको खड्गाले सुनाए। आमसभास्थलबाट फर्कदै गरेका करिब डेढ दर्जन मानिस खड्गाका अघिल्तिरै कुटिएका थिए।

गोली लागेका बाहेक पनि झण्डै डेढ दर्जन लाठी, ढुँगा र अश्रुग्याँसका घाइतेहरु अञ्चल अस्पतालमै उपचार गराइरहेका छन्। घटनामा केहि प्रहरी पनि घाइते भएको खड्गा सुनाउछन्।
यसभन्दा अघि पनि यसरी गोली चल्दा र मृत्यु हुदा घटनाले साम्प्रदायिक रुप नलिएको कारण यसपटक पनि पहाडे–मधेसी भावना राखेर कुनै अप्रिय घटना हुनसक्ने संभावना कमै रहेको खड्गा सुनाउँछन्। तर, नेकपा (एमाले)सँग सम्वद्ध स्थानीय व्यक्तिका निम्ति भने केहि समयलाई खतरा हुने उनको ठम्याइ छ।

कसरी भयो घटना?
राजमार्गहुँदै पूर्वबाट आएको नेकपा (एमाले)को जुलुस सुरुमा भारदहबाटै हनुमाननगर भएर राजविराजहुदै आमसभास्थल आउने योजना थियो। तर, अचानक जुलुसले मार्ग परिवर्तन गरेर रुपनीबाट प्रवेश गर्दा जुलुसको विरोध गर्ने तयारीमा रहेका मोर्चाका समर्थकहरु उतै सीमित हुन पुगे। यसरी राजविराज नभएरै सोझै आमसभास्थलमा जुलुस जम्मा भएपछि आमसभा सुरुभएको थियो। त्यसपछि झण्डै एक हजारभन्दा बढी प्रदर्शनकारीहरुको दबाब आमसभास्थलतर्फ बढ्न थाल्यो। त्यसलाई सुरुदेखि प्रहरीले दक्षिणतर्फै रोक्ने हिसाबले सबै उपायहरु अपनाएको थियो। प्रहरी घेरा छलेर जान खोज्नेलाई समातेर कुट्ने र गिरफ्तार गर्ने क्रम चलिरहेको थियो। जान नपाएपछि प्रदर्शनकारीले ढुगामुढा गर्ने गरिरहेका थिए। त्यस क्रममा दुइ सय राउण्डभन्दा बढी अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरिएको थियो। लाठीप्रहार अनगिन्ती पटक भए।

यसरी अघि बढेको आमसभा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बोल्ने बेलासम्म प्रहरीलाई नियन्त्रण गर्न अत्यन्तै हम्मे परिसकेको थियो। प्रदर्शनकारीको भीँड पनि आमसभास्थलबाट निकै नजिक आइसकेको थियो। यस्तोमा जुलुस आमसभास्थलबाट बाहिरिएपछि भीँड अझ तनावग्रस्त हुनपुग्यो। सायद सकिएको कारण अश्रुग्याँसको प्रहार कम भइसकेको थियो। त्यसमाथि हावाको वहाव विपरित भएको कारण प्रदर्शनकारीले उठाएर फालेको अश्रुग्याँसले उल्टो प्रहरी बढी पीडित थिए। फोहोराका निम्ति ल्याइएको पानी पनि सकिएको थियो। यस्तोमा स्थिती चर्किँदै गएपछि प्रहरीले हिर्काएको गोली प्रायः घाइतेलाई कम्मरमाथि नै लागेको खड्गा सुनाउँछन्।
सप्तरी घटनामा प्रहरीको गोली लागि चार जनाको मृत्यु, राजविराज यतिबेला तनावग्रस्त सप्तरी घटनामा प्रहरीको गोली लागि चार जनाको मृत्यु, राजविराज यतिबेला तनावग्रस्त Reviewed by Unknown on 8:41 AM Rating: 5

No comments:

Powered by Blogger.