आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे

प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए ।

 दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

 ट्यांकरको मात्र नभई धाराबाट वितरण भइरहेको खानेपानीको समेत विभिन्न संघ–संस्था, व्यक्ति तथा कार्यालयबाट बक्यौता उठ्न सकेको छैन । केयूकेएलले उठाउन बाँकी यस्तो महसुल परिणाम हालसम्म दुई अर्ब रुपैयाँ पुगिसकेको भट्टराईले जानकारी दिए ।

यो बक्यौता नेपाल खानेपानी संस्थान हुँदादेखिकै हो । संस्थानबाट ७० करोड रुपैयाँ रुपान्तरण भइआएको र २०६४ पछि केयूकेएलको मात्रै १ अर्ब ३० करोड रुपैयाँ बक्यौता भइसकेको छ । केयूकेएल हाल वार्षिक २० करोड रुपैयाँ नगद घाटामा सञ्चालनमा भइरहेको छ । उनका अनुसार, केयूकेएलको महसुल नतिर्नेमा निजी उपयोगकर्ताभन्दा कार्यालय भन्दा पनि सरकारी कार्यालय र संघसंस्था छन् ।

 “जंगबहादुरका पालादेखिको खानेपानीको लाइन भएकाले बिलिङ भए पनि स्पष्ट जानकारीसमेत नभएको अवस्था छ,” उनले भने, “यस्ता धाराको संख्या करिब १३ हजारको हाराहारीमा छ ।” सिंहदरबार, सार्वजनिक धारा, सरकारी कार्यालयहरू, अस्पताल, नाराहणहिटी संग्रहालय, नगरपालिकाका कार्यालयलगायतको नाममा लाखौं रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको खबर आजको कारोबारमा छ ।
स्रोत : रातो पाटी
आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानी महसुल तिरे Reviewed by Unknown on 6:38 PM Rating: 5

No comments:

Powered by Blogger.