चन्द्रागिरी जान अब निःशुल्क बस सेवा

काठमाडौं, पुस १८ – काठमाडौं उपत्यकाबाट चन्द्रागिरी केबुलकार चढ्न जाने यात्रुका लागि निःशुल्क बस सेवा सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक लेलेण्डको ४२ सिट क्षमता भएको निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।
हरेक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट बस छुट्नेछन् । महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलङ्की हुँदै चन्द्रागिरी केबलकार पुग्नेछ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै चन्द्रागिरी केबलकार पुग्ने छ ।

चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले थानकोटस्थित चन्द्रागिरी हिल्स लिमिटेडको परिसरमा निःशुल्क बस सेवाको शुभारम्भ गर्नुभयो । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरी घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताउनुभयो ।

कार्यक्रममा संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा जानकारी दिनुभयो ।
काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई एक दिन लम्ब्याउने उद्देश्यले यस डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना भएको हो ।

समुद्री सतहबाट झण्डै १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथा देखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ ।

केबलकार संचालनमा आएदेखि अहिलेसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर माहादेवको दर्शन गरिसक्नु भएको छ ।

स्रोत: उज्यालो अनलाइन डट कम 
चन्द्रागिरी जान अब निःशुल्क बस सेवा चन्द्रागिरी जान अब निःशुल्क बस सेवा Reviewed by Himalaya Times Express on 9:45 AM Rating: 5

No comments:

Powered by Blogger.