धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख

तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो। आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।

नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू आएको कोइरालाले बताएका छन्। उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ।’

उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन्।

मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन्, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन्।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन्।

Source: Setopati
धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख Reviewed by Himalaya Times Express on 11:22 AM Rating: 5

No comments:

Powered by Blogger.