अभिनय गर्दा–गर्दै स्टेजमै बेहोस भएका वरिष्ठ रंगकर्मी विष्णुभक्त संसारबाट बिदा भए
पुस १९, २०७३- नाटकको दृश्यमा उनी ढल्नुपर्ने थिएन । तर, दुखद कुरा– वरिष्ठ रंगकर्मी विष्णुभक्त फुँयाल मंगलबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा ढले । संस्कृतिविद् सत्यमोहन जोशीको नाटक ‘याज्ञवल्क्य’ मा उनी जनक राजाको भूमिकामा थिए । त्यही भूमिका गर्दागर्दै ५ बजेर ५० मिनेट जाँदा एकाएक उनी स्टेजमा बेहोस भए ।
सुगर, प्रेसर, बाथ, हर्निया लगायत थुप्रै स्वास्थ्य समस्याबाट पीडित उनलाई हतारहतार वीर अस्पताल ल्याइयो । अस्पतालले साँझ ६ बजेर १० मिनेट जाँदा उनी दिवंगत भएको घोषणा गर्यो । ७९ वर्षे फँुयालले यसै वर्ष रंगमञ्चका लागि राष्ट्रिय पुरस्कार थापेका थिए ।
डबली नाटक गर्दै हुर्केका उनी रमेश विकलको कृतिमा आधारित ‘अविरल बग्दछ इन्द्रावती’ टेलिशृंखलाबाट एकाएक चर्चामा आए । बद्री अधिकारीले निर्देशन गरेको यो टेलिशृंखलामा उनी गम्भीरे माझीको भूमिकामा थिए । आइतबारदेखि मञ्चन सुरु भएको नाटक ‘याज्ञवल्क्य’ पनि बद्रीले निर्देशन गरेका हुन् ।
६ दर्जनभन्दा बढी नाटकमा अभिनय गरेका उनको पछिल्लो छवि ‘यु आर माई लभ’ को थियो । हास्य टेलिशृंखला ‘तीतोसत्य’ आधुनिक गेटअपसहित उनले अभिनय गर्दाको थेगो ‘यु आर माई लभ’ तन्नेरीदेखि बालबालिकासम्म लोकप्रिय बनेको थियो । ‘रंगमञ्चको एउटा आदर्शलाई हामीले गुमायौं,’ निर्देशक अधिकारीले भने, ‘उहाँको मिहिनेत, संघर्षशील स्वभाव र इमानदारिताबाट हामीले सिक्नुपर्छ ।’
उनले नाटकमा अभिनय गर्दागर्दै दिवंगत बनेको कलाकार संसारमै पहिलो हुन सक्ने दाबी गरे । ‘उहाँ आफ्ना निकटहरुलाई अन्तिम इच्छाको रूपमा रंगमञ्चमै काम गरिरहेको बेला मर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो,’ अधिकारीले भने, ‘अनौठोसित त्यस्तै भयो ।’
विसं १९९४ मा भक्तपुरको बागेश्वरीमा जन्मेका उनी अनेक संघर्ष गर्दै काठमाडौं पसेका थिए । उनले २०१९ मा पहिलोपटक नेवार भाषाको डबली नाटक ‘कर्मया भोग’ खेलेका थिए । केही नाटक निर्देशन समेत गरेका उनको एक नाटय कृति पनि प्रकाशित छ ।
पछिल्लो समय चाबहिलस्थित घरमा बस्दै आएका उनी कलाकारितासँगै सामाजिक छविमा पनि देखिए । २०५४ को स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिका वडा नं. ६ बाट वडा सदस्य जितेका थिए । ‘राजनीतिक विसंगतिको कुरा गर्दा उहाँ जीवन नै नाटक हो, राजनीति पनि एक नाटक नै रहेछ भन्नुहुन्थ्यो,’ फुँयालकै समय वडा अध्यक्ष जितेका नेपालजित लामाले भने, ‘उहाँको निष्ठा र इमानदारिताबाट राजनीतिकर्मीले पनि सिक्नुपथ्र्यो तर त्यस्तो हुन सकेन ।’
साढे पाँच दशक नेपाली रंगमञ्चलाई योगदान दिएका फुँयाल पछिल्लो समय कुसुम नाटय समूहका अध्यक्ष थिए, यही समूहमार्फत मुलुकका विभिन्न भेकमा चेतनामूलक कहचरी नाटक लिएर पुग्थे । भूकम्पलगत्तै ‘कला थेरापी’ मार्फत पीडितहरुलाई सघाउन सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लासमेत पुगेका थिए । ‘युवाभन्दा पनि बढी सक्रिय हुन खोज्नुहुन्थ्यो,’ कुसुम थिएटरकै पूर्वअध्यक्ष तथा रंगकर्मी वैकुण्ठ भण्डारीले भने, ‘नेपाली रंगमञ्चले आदर्श कलाकार र हामीले अभिभावक गुमायौं ।’
नाटक गर्दागर्दै ‘रंगमञ्चको आदर्श अभिभावक’ गुमाउन परेकोमा दु:ख प्रकट गर्दै राष्ट्रिय नाचघरले नाटक ‘याज्ञवाल्क्य’ स्थगित गरेको महानिर्देशक राजेश थापाले जनाए । दिवंगत फँुयालको पार्थिव शरीर बुधबार ११ बजेदेखि २ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने बताइएको छ । फँुयालका तीन छोरा छन् ।
स्रोत: कान्तिपुर (ekantipur)
अभिनय गर्दा–गर्दै स्टेजमै बेहोस भएका वरिष्ठ रंगकर्मी विष्णुभक्त संसारबाट बिदा भए
Reviewed by Unknown
on
10:34 AM
Rating:
Reviewed by Unknown
on
10:34 AM
Rating:

No comments: