भारतमा मारिएका हेमराजकी श्रीमतीको बिलौना: दुई छाक खाने कसरी ?

अर्घाखाँची – रोजगारीका लागि भारत गएका श्रीमानले पठाएको पैसाले जीवन निर्वाह हुँदैआएको थियो तर अहिले के गरौं ? भन्ने समस्या भएको छ साढे आठ वर्षअघि हत्या भएका हेमराजकी श्रीमती खुमकलालाई ।

‘भारत सरकारले हामीलाई न्याय त दियो अब जीवन गुजारा गर्ने व्यवस्था पनि मिलाइदिनुपर्छ । जो परिवार पाल्न परदेश गयो उसैको हत्या भयो । अब हामीलाई कसले हेर्छ ? दुई छाक कसरी खाने ?’ गहभरि आँसु झार्दै ४९ वर्षीया खुमकलाले भनिन् ।

‘घरमा जमिन त छ तर तीन महिना पनि खान पुग्दैन । साढे आठ वर्षदेखि माइती र आफन्तको भरमा गुजारा गरिरहेकी छु,’ उनले भनिन्, ‘उहाँ हुँदा त मासिक रु सात, आठ हजार पठाइदिनु हुन्थ्यो र घर खर्च चलाउँथे तर अहिले साह्रै समस्या छ ।’

अर्घाखाँचीको धारापानी गाविस–१ सानाऔवल घर भएका मृतक हेमराजको घरमा ८१ वर्षीया आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसक्यो भने १८ वर्षीय छोरा प्रज्वल १२ कक्षा उत्तीर्ण गरी पढाइ खर्च नभएपछि अहिले पढाइ छाडेर दिल्लीमा गएका छन् । उनको पढाइ अवरुद्ध भएको छ ।

‘पढाइमा छोरो टाठो थियो फेल नै नभई १२ पास ग¥यो तर त्योभन्दा माथि पढाउन सकिनँ । के गर्नु बाध्य भएर भारतमै पठाएँ,’ आमा खुमकलाले भनिन् ।

‘भारतीय मानिस नेपालमा मर्दा सरकारले राहत दिन्छ भारतमा हत्या हुँदासमेत राहत नदिने यो के चलन हो ?’ खुमकलाका भाइ अशोक भुसालले भने, ‘खै कहाँ छन् नेपालका मानवअधिकारकर्मी ? खै मिडिया ?’ रोजगारीका लागि गएको समय साहुद्वारा नै हत्या हुँदासमेत राहत नदिने भारत सरकारको नीतिप्रति उनले दुखेसो पोखे । आफ्नी दिदीलाई परेको पीडामा कसैले नहेरेको सरकार र भारतीय राजदूत कसैले पहल नगरेको उनको गुनासो छ । राहतको व्यवस्था मिलाइदिन पहलकदमीका लागि उनले सबैसँग गुहारेका छन् ।

सन् २००८ मे १५ मा भारतको नोयडास्थित एक अपार्टमेन्टमा १४ वर्षीया आरुसी तलवारलाई उनकै बुबाआमाले मारेको र उक्त घटनाक्रम लुकाउन नक्कली प्रहरी प्रतिवेदन बनाइएको पुष्टि भएको थियो ।

गाजियावादको सिबिआइ विशेष अदालतले २०१३ मा सुनाएको फैसलामा प्राप्त प्रमाण र बयानका आधारमा आरुसी र हेमराज हत्याकाण्डमा डा तलवार र उनकी पत्नीको प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ । विशेष अदालतका न्यायाधीश श्यामलालले सुनाएको फैसलापछि तलवार दम्पतीलाइ प्रहरी हिरासतमा लिएर जेल पठाइएको छ । पैँतालीस वर्षीय नेपाली कामदार हेमराजसँगै भएको हत्याकाण्डका कारण यसलाई हेमराज–आरुसी प्रकरणका रुपमा चिनिन्छ
स्रोत : रातो पाटी
भारतमा मारिएका हेमराजकी श्रीमतीको बिलौना: दुई छाक खाने कसरी ? भारतमा मारिएका हेमराजकी श्रीमतीको बिलौना: दुई छाक खाने कसरी ? Reviewed by Unknown on 9:11 AM Rating: 5

No comments:

Powered by Blogger.