भूकम्पपीडितले तीन लाख अनुदान पाउने पक्का


सरकारले परिमार्जित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान वितरण कार्यविधि प्रमाणित गरेपछि भूकम्पपीडितले तीन लाख पाउने बाटो खुलेको छ।

गत साउन १९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभएपछि पीडितलाई एक लाख थप गरी तीन लाख अनुदान दिने प्रतिबद्धता जनाएका हुन्। गत कात्तिक र मङ्सिरमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्रतिबद्धतालाई निर्णयमा बदलेको थियो।

प्राधिकरण निर्देशक समितिको बैठकको निर्णयलाई गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो। स्वीकृत निर्णय आज प्रमाणित भएपछि भूकम्पपीडितले तीन लाख पाउने गरी कार्यविधि तयार भएको प्राधिकरणका प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिए।

“यसअघिको कार्यविधिमा पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता ८० हजार र तेस्रो किस्ता ७० हजार रुपैयाँ गरी दुई लाख दिने व्यवस्था थियो, अहिलेको कार्यविधिमा पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्ता एक लाख दिने व्यवस्था छ” – उनले भने।
भूकम्पले क्षति पुगी मर्मत सम्भार एवम् प्रबलीकरण (रेक्टोफिटिङ) गरी बस्न सकिने घरलाई एक लाख अनुदान दिने व्यवस्था परिवर्तित कार्यविधिमा छ। भूकम्पले घर पूर्ण क्षति भई पुनःनिर्माण गरिसकेका घरधनीलाई एकमुष्ट अनुदान तीन लाख रुपैयाँ वितरणका लागि प्राविधिक परीक्षण निर्देशिका समेत बनेको प्रवक्ता भुसालले बताए। 

पुनःनिर्माण भइसकेका घर भूकम्प प्रतिरोधी भएको सिफारिस सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट खटिएका इन्जिनियरले गरेपछि तीन लाख एकमुष्ट दिइने निर्देशिकामा उल्लेख छ। रासस

Source: Setopati.com
भूकम्पपीडितले तीन लाख अनुदान पाउने पक्का भूकम्पपीडितले तीन लाख अनुदान पाउने पक्का Reviewed by Unknown on 10:45 AM Rating: 5

No comments:

Powered by Blogger.