सरकारको अर्कोरम्रो निर्णय,सुनकोसीको पानी बागमती झारेर ४०.८० मेगावाट विद्युत र सिँचाइ
लागत ३६ अर्ब ३७ करोड १३ लाख
पाँच जिल्लाको १ लाख २२ हजार हेक्टरमा वर्षैभरि सिँचाइ सुविधा पुर्याइने
रौतहट — सुनकोसी नदीबाट सिन्धुलीको मरिन हुँदै रौतहटको चन्द्रपुर नगरपालिका १ पौराइस्थित बागमती नदीमा पानी ल्याइने भएको छ ।
यसका लागि बागमती सिँचाइ आयोजनाको सुनकोसी–मरिन डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) पुनरावलोकन भइरहेको छ । आयोजना सम्पन्न भए तराईका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।
पाँच वर्षे परियोजनाअन्तर्गत सुनसरीबाट सुनकोसीको पानी डाइभर्सन गरेर मरिन हुँदै बागमतीसम्म ल्याउन लागिएको हो । झन्डै ३६ अर्ब ३७ करोड १३ लाख ८८ हजार ७ सय एक रुपैयाँ लागतमा काम थालिएको छ । आयोजनाका अनुसार सुनकोसीबाट १३.१ किमि टनेल बनाएर सिन्धुलीको मरिनमा पानी झारिनेछ । त्यसपछि ४२ किमि नदीबाट बागमतीको दोभानमा मिसाइनेछ । त्यही पानी १० किमि दक्षिण ब्यारेजमा संकलन गरेर नहरका शाखा प्रशाखामार्फत खेतसम्म पुर्याउन लागिएको हो ।
डीपीआर बनाउने जिम्मा इटेक कन्सल्टेन्टले पाएको छ । परियोजना निर्देशक मित्र बरालले डीपीआर पुनरावलोकन भइरहेको जानकारी दिए । सुनकोसी–मरिन बहुउद्देश्यीय परियोजना (एसएमडीएमपी) अन्तर्गत १ सय ८० मिटर लम्बाइको बाँध बनाएर करिब १३.१ किमि दूरी र ७ मिटर ब्यासको भित्री सुरुङमार्फत सुनकोसीबाट ७७ क्युसेक पानी बागमतीमा ल्याई ४०.८० मेगावाट विद्युत्समेत निकाल्ने लक्ष्य रहेको उनले बताए । ‘यसबाट रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बाराको १ लाख २२ हजार हेक्टर जमिन वर्षैभरि सिञ्चित गर्न सकिन्छ,’ बरालले भने ।
यस्तो हुनेछ संरचना
परियोजनाका अनुसार हेडरेस सुरुङ सिन्धुलीको खुर्कोटबाट सुरु भई मरिन उपत्यका पुगेर टुंगिन्छ । विभिन्न चट्टान छिचोलेर निकालिने बाइपास सुरुङ १३.१ किमि र ७.० भित्री व्यासको हुनेछ । सुरुङको अन्त्यमा छाल ट्यांकी बनाइन्छ जसबाट पेनस्टक पाइपले पानीलाई पावर हाउससम्म पुर्याउँछ । मरिन खोलाको दायाँबायाँ किनारमा ४० र २० मिटरको पावर हाउस पनि रहनेछ ।
अर्धसतही बनोटमा हुने पावर हाउसको उचाइ ४ सय २० मिटर हुने परियोजनाले जनायो । बागमतीमा पानीको सतह कम भएपछि पछिल्ला दिन रौतहट र सर्लाहीका खेतीयोग्य जग्गामा सिँचाइको समस्या छ । बागमतीको क्षमता १ लाख २२ हजार क्युसेक छ । हिउँदमा पानीको सतह घटदा किसानले खेतमा लगाउन पाउँदैनन् । बागमतीमा अहिले पानीको सतह ५/६ क्युसेक मात्र छ । सुनकोसीबाट पानी ल्याउन सके जुनसुकै समयमा सिँचाइ सुविधा उपलब्ध हुने सिँचाइ आयोजनाका डिई भक्तकुमार लालले बताए ।
साउदी अरबको आर्थिक सहयोगमा आयोजनाले लामो समयदेखि विभिन्न प्याकेज बनाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । बागमती नदीमा झन्डै ५ सय मिटर लामो ढोके पुल बनाएर नहरमा पानी सप्लाइ गरिरहेको छ । पुलको क्षमता १ लाख २२ हजार क्युसेक छ । रौतहटका किसानलाई ४८ र सर्लाहीलाई ६४ क्युसेक पानी उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । आयोजनाले २०३५ देखि २०४४ सालसम्म आफ्नै स्रोत र साधनबाट विभिन्न शाखाप्रशाखा नहरको सुरुवात गर्यो । साउदी विकास कोषबाट सन् १९७८ जुनमा पश्चिम मूल नहर, भलोहिया शाखा निर्माण गरिएको थियो । राष्ट्रिय जल उपभोक्ता महासंघका केन्द्रीय सदस्य लक्ष्मी महतोले सुनकोसी मिसाएपछि बागमतीमा पानीको मात्रा कम नहुने बताए । आयोजनाका १ सय ९ वटा सेकेन्डरी र २१ वटा प्रशाखा नहर छन् । प्रथम चरणको ४६ हजार ६ सय हेक्टरमध्ये २८ हजार हेक्टरमा भरपर्दो सिँचाइ सुविधा पुगेको आयोजनाको दाबी छ ।
ओझेलमा विद्युत्
बागमती सिँचाइ आयोजनाले बहुउद्देश्यीय योजनाअन्तर्गत विद्युत् उत्पादन गर्न कार्यक्रम अघि सारेको तीन दशक बितेको छ । आयोजनाले सिँचाइ सुविधा र दोस्रोमा विद्युत् उत्पादनको लक्ष्य राखेको छ । पहिलो चरणकै कार्यक्रम सम्पन्न हुन ढिला भएकाले विद्युत् उत्पादनको कार्यक्रम ओझेलमा परेको हो । मुलुकमा बिजुलीको माग बढिरहेका बेला विद्युत् उत्पादन प्रभावकारी हुने आयोजनाका कर्मचारी बताउँछन् ।
१ सय १७ मिटर अग्लो बाँध बनाएर १ सय ४० मेगावाट विद्युत् उत्पादन गर्ने योजना आयोजनाले सन् १९७९ मै अघि सारेको हो । आयोजनाले पहिलो चरणमा रौतहट, सर्लाही र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा र दोस्रो चरणमा विद्युत् उत्पादनको योजना अघि सारेको डिई लालले बताए । जापानी परियोजना निपन कोइले बागमतीमा बाँध बनाएर विद्युत् उत्पादनको सर्वेक्षण गरिसकेको छ ।
सरकारको अर्को राम्रो निर्णय,सुनकोसीको पानी बागमती झारेर यसरी ४०.८० मेगावाट विद्युत र सिँचाइ
No comments: