नेपालको शालि नदि र स्वस्थानीको महिमा ! हेर्नैपर्ने भिडियो
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरू भएर माघ शुक्ल पूर्णिमाको दिनसम्म चल्ने श्रीस्वस्थानीको व्रतले मनोकांक्षा पूरा हुने उच्च जनविश्वास अझै पनि कायम नै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा वाचन हुने श्रीस्वस्थानीको व्रत स्कन्द पुराणमा आधारित मानिए पनि यसलाई कसले लेखेको हो भन्ने यकिन भएको छैन । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिड्ग बनाई निराहार व्रत बसेर मनोकांक्षा पूरा भएको प्रसंगमा श्रीस्वस्थानीको कथा घुमेको छ । भगवान् विष्णुको सल्लाहमा आफ्नो मनोकांक्षा पूरा भएपछि यस्तो पवित्र कार्यका बारेमा सबै लोकलाई नै जानकारी गराएर अरुको पनि कल्याण गर्नका लागि श्रीस्वस्थानीको व्रतकथालाई प्रचारप्रसार गराइएको कुरा कथामा नै उल्लेख गरिएको छ ।
महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा होमिएर प्राण त्याग गरेपछि हिमालय र मेनकाको कोखमा छोरी पार्वतीका रुपमा जन्म लिएको प्रसंग कथामा रोचक रुपमा उतारिएको छ । पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन स्नान गरी हातगोडाको नड काटी शुद्ध चित्त बनाई सुरू गरेको व्रत एक महिनासम्म भगवान् शिव र स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजाआजा गरी सम्पन्न गर्ने चलन आजका दिनसम्म पनि यथावस्थामा नै विद्यमान छ । व्रतालुहरुले स्वस्थानी परमेश्वरीको पूजा तथा आराधना गरी स्वस्थानीको महात्म्य श्रवण गरेपछि मध्यकालमा एक छाकमात्र भोजन गर्ने भगवान्को पालाको चलन अहिले त्यही रुपमा नै जीवित छ ।
एक महिनाभर प्रत्येक दिन बेलुका अधिकांश नेपालीहरुको घरघरमा श्रीस्वस्थानीको कथा वाचन तथा श्रवण हुने गर्दछ । छरछिमेकका मानिसहरु एक ठाउँमा भेला भएर कथा सुन्ने र सुनाउने पुरानो चलनबाहेक आजकल त रेडियो र टिभीमा समेत स्वस्थानीको पाठ हुने गर्दछ । श्रीस्वस्थानीको व्रत लिनेहरुले मध्यान्यमा कथा श्रवण गर्ने चलन छ भने व्रत नलिने ठाउँहरुमा प्रायः बेलुका नै कथा वाचन र श्रवण गर्ने चलन छ । कथामा कहीँकहीँ श्रीस्वस्थानी परमेश्वरीप्रति भक्ति जगाउन डर र त्रास देखाइएको छ । श्रीस्वस्थानीको व्रत लिएमा के हुने र नलिएमा के हुने भन्ने कुराको तुलना गरेर नलिनेलाई दुःख–कष्ट अनि श्रीस्वस्थानीको व्रत लिनेलाई सुख र सन्तोष हुने कुरामा श्रीस्वस्थानी व्रतकथाका अध्यायहरु घुमेका छन् । कथा यसैको सेरोफेरोमा घुमेको भए पनि कथाले आफ्नो प्रस्तुतिमा महिलाहरुप्रति अलि बढी अन्याय गरेको भेटिन्छ ।
स्वस्थानीको कथाका विभिन्न प्रसंगहरुमा महिलालाई अपमानित गरेका कुराहरु भेटिन्छन् । कसले कुन समयमा के उद्देश्यका लागि लेखेको पुस्तक हो भन्ने कुराको यकिन हुन नसके पनि हिन्दू धर्मावलम्बीहरुका बीच अति प्रचलित श्रीस्वस्थानीको पुस्तक घर राखेमात्र पनि धर्म हुने जनविश्वास पनि रहिआएको पाइन्छ । किताब घरमा राख्दामात्र पनि धर्म हुने यस्तो पवित्र पुस्तकमा महिला हिंसाका कुरा यति धेरै मात्रामा रहनु सारै दुःखद कुरा हो ।
नेपाली महिलाहरुले कठोरताका साथ महिनादिनसम्म निराहार व्रत बस्ने र श्रीस्वस्थानीको जुन महिमा सुन्ने गर्दछन्, त्यो महिमा नै महिलाहरुप्रति विभेदकारी भएको पाइन्छ । कथामा सबैभन्दा कारूणिक लाग्ने प्रसंग नै महिलाका बारेमा
छ । कथामा कारण जे भए देखाएको भए पनि भिक्षा दिन कुराएर ढिलो गरेको बहानामा महादेवले बालिकालाई श्राप दिएर एउटी सात वर्षीया अबोध बालिकाको सत्तरी वर्षको बूढासँग बिहे गराएको प्रसंग स्वीकार गर्न नसकिने खालको छ ।
स्वस्थानीका कतिपय प्रसंगहरु अति उत्ताउला लाग्ने खालका पनि छन् । महादेव र पार्वती एकान्तमा रहेको बेलामा भिक्षा माग्न आएको जोगीलाई महादेवले ध्यान भंग गरिस् भन्दै आफ्नै वीर्य दिएर पठाएको प्रसंग अलि बढी उत्ताउलो लाग्ने खालको छ । परिवारसँग सँगै बसेर श्रवण गर्दा लाज लाग्ने प्रसंग ठाउँठाउँमै आउने गर्दछन् ।
श्रीस्वस्थानीको कथा अस्वाभाविक तर धेरै नै प्रचलित
छ । अति नै श्रद्धापूर्वक वाचन गरिने यो कथाका केही प्रसंगहरुलाई पुनर्लेखन गर्न अति नै आवश्यक
छ । धर्म र संस्कृतिका नाममा सधैँ उही अन्याय र कारूणिक कथाहरु दोहोराउनु राम्रो कुरा होइन । केही प्रसंग अपत्यारिला छन्, केही
छैनन् । तर, केही प्रसंगहरु त समाजमा नै विकृति ल्याउन सघाउने खालका पनि छन् । मधुकैटवको बोसो पानीमा जमेर पृथ्वी मासुले पर्वत र हाडले ढुंगा बनेको जस्ता सारै अपत्यारिला लाग्ने प्रसंगलाई त पुनर्लेखन गर्न आवश्यक नै छ । पार्वतीको शरीरमा बुकुवा घस्दा निक्लेको मयलबाट गणेश र गोबरलाई तसलामा छोपी राखेर गोमा जम्मिएको प्रसंग पनि धर्मप्रति आस्थाभन्दा अनास्था बढाउने खालका छन् । यो त काल्पनिकसम्म पनि हुनै नसक्ने कुरा छ ।
मानिसमा एकपटक पलाएको आस्था हत्तपत्त डगमगाउँदैन । मानिसको आस्था कतिसम्म अन्धो र गहिरो हुन्छ भन्ने कुराको गतिलो प्रमाणका रुपमा श्रीस्वस्थानीको व्रतकथालाई लिन सकिन्छ । कथामा महादेवको बहुलठ्ठीपन जतासुकै पढ्न र सुन्न पाइन्छ । अनि, कथामा प्रायः ठाउँमा महिलालाई नै अपमान गरेका प्रसंगहरु छन् । तर पनि हाम्रो समाजका नारीहरु अझै पनि स्वस्थानीको श्रद्धामा बढवा दिँदै तिनै कथाका बहुलठ्ठी महादेवलाई पुज्न आतुर नै छन् । विज्ञानमा जस्तै धर्ममा पनि किन र कसरी भन्ने प्रश्न
राख्ने चलन हुँदो हो त सायद धेरै धार्मिक कुराहरुमा सुधार आइसकेको हुनेथियो । धार्मिक कुरा मान्ने तरिकालाई मात्र परिवर्तन गर्न सकियो भने पनि धर्मभित्रका धेरै कुरीतिलाई कम गर्न सकिन्छ ।
वर्षौंदेखि चलिआएको संस्कार पनि एउटा ऐतिहासिक सम्पत्ति नै
हो । तर, यसो भन्दैमा त्यसभित्रका खराब कुरालाई पनि स्वीकार गर्नुपर्दछ भन्ने होइन । कथाभित्र विविध प्रसंगहरु उल्लेख गरिएका छन्, जसका कारण मानिस अनुशासित बन्नलाई प्रेरित पनि
होस् । केही आदर्श, पुरूषार्थ र नैतिकताका प्रसंगहरु स्वस्थानीको कथामा उल्लेख गरिएका छन् । कथामा मातृभक्ति र पतिभक्तिलाई अलि बढी नै चित्रण गरिएको
पाइन्छ । स्वस्थानी व्रतकथामा वर्णन गरिएका पीठहरुको उत्पत्ति र नामकरणको प्रसंग जे भए पनि ती स्थानहरु नेपालभित्र पर्ने हुनाले नेपालमा स्वस्थानी व्रतको मह¤व अरु ठाउँभन्दा बढी भएको तर्कले विशेष ठाउँ ओगटेको छ । स्वस्थानीको कथाको शीर्ष भागमा स्वस्थानीदेवीको स्वरुप, व्रतविधि, शिव शर्मा, गोमा, नवराज राजा, चन्द्रावती, पार्वती र महादेवलगायत पात्रहरु नै छन् । यिनै पात्रमार्फत कथालाई वर्णन गरिएको छ । कथाका पात्रमध्ये धेरै पात्रको चरित्र सकारात्मक देखाइए पनि मुख्य लाग्ने पात्रको चरित्र भने ख्यालख्यालकै देखाइएको छ ।
नेपालको शालि नदि र स्वस्थानीको महिमा ! हेर्नैपर्ने भिडियो
Reviewed by Unknown
on
5:04 AM
Rating:
Reviewed by Unknown
on
5:04 AM
Rating:
No comments: